Online Nepal शुक्रबार, बैशाख २५ २०८३

स्वास्थ्य क्षेत्रमा तीन दशकपछि ९७७ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयको स्वीकृति

स्वास्थ्य क्षेत्रमा तीन दशकपछि ९७७ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयको स्वीकृति


मध्यान्तर
  • बिहिबार, बैशाख २४ २०८३

  • काठमाडौं । देशको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउन सरकारले स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले बुधबार स्वीकृत गरेको हो ।

    स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार थप गर्न लागिएका दरबन्दीहरूमा प्राविधिक तथा विशेषज्ञ स्वास्थ्यकर्मीहरू रहेका छन् । “स्वास्थ्यमा अति आवश्यक जनशक्तिको अभाव टार्न यो प्रस्ताव लगिएको हो, जसलाई अर्थले सहमति दिएको छ,” सचिवालयका एक सदस्यले जानकारी दिए ।

    मन्त्रिपरिषद्‍बाट अन्तिम निर्णय हुने
    अर्थ मन्त्रालयको स्वीकृतिसँगै अब यो प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । आगामी मन्त्रिपरिषद्को बैठकले यसबारे अन्तिम निर्णय गरेपछि दरबन्दी थपको प्रक्रिया विधिवत् रूपमा कार्यान्वयनमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    तीन दशकपछिको महत्वपूर्ण फड्को
    नेपालको स्वास्थ्य क्षेत्रमा विगत तीन दशकदेखि स्थायी दरबन्दी थप हुन सकेको थिएन । जनसंख्या वृद्धि र स्वास्थ्य संस्थाहरूको विस्तार भए पनि दरबन्दी संरचना पुरानै (२०५० सालको) ढाँचामा सीमित हुँदा अस्पतालहरूमा विशेषज्ञ सेवा प्रवाहमा ठूलो समस्या देखिँदै आएको थियो ।

    यसअघिका विभिन्न स्वास्थ्य मन्त्रीहरूले दरबन्दी थपको प्रयास गरे तापनि सरकारी तहबाट स्वीकृति प्राप्त हुन सकेको थिएन । स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि जनसंख्याको चाप अनुसार दरबन्दी पुनरावलोकन गर्न माग गर्दै आएका थिए ।

    प्रभावकारी सेवाको अपेक्षा
    देशको जनसंख्या ३ करोड पुगिसकेको अवस्थामा नयाँ दरबन्दी थपिएपछि संघीय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ । यसले विशेषगरी सरकारी अस्पतालहरूमा हुने जनशक्तिको चर्को अभावलाई कम गर्ने र आम नागरिकले प्रभावकारी विशेषज्ञ सेवा पाउने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको दाबी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार