Online Nepal सोमबार, बैशाख १७ २०८१

एसईई प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित, प्रदेश २ तनावग्रस्त

एसईई प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित, प्रदेश २ तनावग्रस्त


मध्यान्तर
  • शुक्रबार, चैत्र १५ २०७५

  • जनकपुर । प्रदेश २ को सामाजिक विषयको एसईई प्रश्नपत्र बाहिरिएपछि आज हुने परीक्षा स्थगित गरिएको छ । परीक्षाको अघिल्लो दिन बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको आज हुने परीक्षा स्थगित गरिएको हो ।

    प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको आज हुने सामाजिक विषयको परीक्षा स्थगन गरिएको बताए । उनले भने–‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि हामीले नियमिततर्फको आजको परीक्षा स्थगित गरेका छौं ।’ उनका अनुसार आज स्थगित भएको परीक्षा अब चैत २३ गते हुनेछ ।

    नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको जानकारी शर्माले दिए । प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएपनि प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।

    यसैविच एसईई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त बनेको छ । आज (शुक्रबार) हुने सामाजिक विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएर आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ । परीक्षा रद्द भएको आक्रोशमा विद्यार्थीले प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमासमेत आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार