चित्रगुप्तले प्रेसकृप्सन लेख्न
समय आएको छैन
खानुपर्छ विभेदको औषधि
अकालमै मर्नुपर्ने
अस्पताल हो कि
बधशाला ?
खाएर घृणाको जीवनजल
हेपिनुपर्छ पलपल
बेस्सरी झाडापखाला लागेर
मर्नुपर्छ राजु सदाहरु
कुरी कुरी भन्नै लाज लाग्ने
तिम्रो कुरीन्टिनमा।
कति बगायो सपनाहरू
कति मिसे रगत,पसिना
यो राप्ती खोलामा
किनारा भयौ
हामी अनागरिक
प्रजा।
ठहरिन्छ अपराधी
गिट्ठा भ्याकुर खाएको अभियोगमा
झोसिन्छ परिवर्तनको आगो
हाम्रो बस्तीमा
बन्छौ नयाँ जोगी
धस्छौ खरानी।
भोकको पाठ पढाऊन
प्रोफेसर सूर्य बहादुर
किर्तीपुर जाँदै गर्दा
एक्कासि ढल्छ
सुनेर बुलन्द नारा
कोहि भोको बस्नुपर्दैन।
कस्तुरी विनाको मगमग
बासनाजस्तो
किन मीठो लाग्छ
बारुदको गन्ध?
भोकको ग्याँस भरिएर
सिलिन्डर बनेको हाम्रो पेट
बम बन्यो भने
सुकेको आन्द्राको डोरी
फाँसी बन्यो भने
सम्झिन्छौ
विर्सिएको हैसियत ।
बुद्धि बहादुर राना