काठमाडौं । अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।
गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन् । गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०–६१ वर्षको आसपास रहेको छ ।
प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ । उनी विद्यालयका पूर्व विद्यार्थी थिए ।
गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो जहाँ ११ वर्षसम्मका बालबालिका पढ्छन् ।
यो हमलापछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तनको बारेमा फेरि एक पटक पुरानो बहसको चर्चा सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
विद्यालय नजिकै बस्ने एक महिला क्याथीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सुरुवातका आठ वा दश सटहरू निकै चर्को थिए । विद्यालय हाम्रो घरबाट दुई ब्लक मात्र टाढा छ । यो धेरै दुखद कुरा हो र यस्तो घटना जो कोहीमाथि पनि हुन सक्छ ।’