काठमाडौँ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्। पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा वर्षासँगै परेको चट्याङमा परी उनीहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइते हुनेहरूमा पकहामैनपुर गाउँपालिका–१ बस्ने ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य ६ जना घाइतेहरूलाई भने थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल लगिएको छ।
डंकन अस्पतालमा उपचार गराइरहेकामध्ये ५२ वर्षीया कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ भने बाँकी ५ जनाको अवस्था मध्यम छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।