Online Nepal बिहिबार, असार ३२ २०८३

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, जीवनबहादुर शाहीको नाम प्रस्ताव

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, जीवनबहादुर शाहीको नाम प्रस्ताव


मध्यान्तर
  • बिहिबार, असार ३२ २०८३

  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नयाँ सत्ता समीकरण र राजनीतिक फेरबदलका बीच बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

    नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाएको दाबी गर्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रस्तावमा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११ जना र नेपाली कांग्रेसका ५ जना गरी कुल १६ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता भएसँगै सांसदहरूले नयाँ मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नामसमेत प्रस्ताव गरेका छन् ।

    यसअघि बुधबार मात्रै कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका तर्फबाट ४ जना मन्त्रीहरूले मुख्यमन्त्री कँडेल समक्ष सामूहिक राजीनामा बुझाएका थिए । मन्त्रीहरूको राजीनामा लगत्तै विकसित भएको नयाँ राजनीतिक समीकरणका कारण मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार संकटमा परेको हो ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठन वा निरन्तरताका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ । कांग्रेस र विपक्षी दल मिल्दा मुख्यमन्त्री अल्पमतमा पर्ने निश्चित देखिएको छ । प्रदेशसभा सचिवालयले यस प्रस्तावमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार