Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

राष्ट्रियसभाले समितिमा पठायो नागरिकता विधेयक

राष्ट्रियसभाले समितिमा पठायो नागरिकता विधेयक


मध्यान्तर
  • आइतबार, भाद्र १२ २०७९

  • काठमाडौं । राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    आइतबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त प्रस्ताव बैठकबाट सर्वसम्मतीले पारित भएको थियो ।

    त्यसअघि, आइतबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकका सम्बन्धमा जानकारी गराएका थिए ।

    यसअघि, संसद्को दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाए पनि राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन् ।

    फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ । अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै उक्त विधेयक राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार