Online Nepal मंगलबार, बैशाख १८ २०८१

आम दर्शक र स्रोताको अपार मायाले मलाई अघि बढ्न हौसला मिलेको छ

आम दर्शक र स्रोताको अपार मायाले मलाई अघि बढ्न हौसला मिलेको छ


मध्यान्तर
  • बुधबार, जेष्ठ १ २०७६

  • रश्मी राई, गायिका

    प्रदेश नम्बर एकको खोटाङ जिल्ला अन्तर्गत जन्ते ढुंगा –४ चुम्लुङमा बाबु प्रसाद राई र आमा धनकुमारी राईकी जेठी सुपुत्रीका रुपमा जन्मेकी रश्मी राई नवोदित गायीका हुन् । खोटाङकै चिसापानी क्याम्पसमा अध्ययन गरेपछि राजधानी काठमाडौं छिरेर गायनमा प्रवेश गरेकी राईसँग यस क्षेत्रमा रहेका समस्या र जिबीकोपार्जनमा थपिएका चुनौतिका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

    ० तपाई गायन क्षेत्रमा लाग्न कसरी कोबाट प्रेरणा पाउनुभयो ?
    सानै देखि आफुले लिएको लक्ष्य अनुसारै म यो क्षेत्रमा लागेकी हुँ । सानै देखि गायीका बन्ने वा फुटबल प्लेयर बन्ने लक्ष्य लिएको थिएँ । तथापि फुटबललाई साइडमै राखेर गायन क्षेत्रमा लागेकी छु ।

    ० वास्तवमै यो पेशामा लागेर जिउन कत्तिको गाह्रो छ ?
    सुरुवातमा एकदमै गाह्रो हुन्छ नै । तथापि गाह्रो छ भन्दैमा पेशामा लागिसकेपछि बीचमा छाड्न त सकिदैन । फेरी गाह्रो काम गर्दा नै सफलतामा पुग्न सकिन्छ । जुन कुरा हिजो पनि हुन्थ्यो र आज पनि छ ।

    ० तपाई गायन क्षेत्रमा लाग्नुभएको कति समय भयो ?
    मैले सानै देखि नै गायन क्षेत्रमै प्रवेशका लागि म्यूजिक क्लासहरु लिँदै आएको थिए । तर, निरन्तर रुपमा लागेको चाहिँ भरखरै दुई वर्ष जति भएको छ ।

    ० तपाई अहिलेसम्म कति गीत गाउनुभयो ?
    मैले आफ्नै सक्रियतामा २५ वटा कलेक्सन गीतहरु गाइसकेको छु । यसरी गाउँदा पनि स्रोताहरुबाट मलाई अत्यन्तै माया पाएकी छु ।

    ० अहिले गीत गाएर एल्बम र क्यासेटहरु विक्री गर्ने परम्पराबाट सिआरबीटी हुँदै युट्यूव एकाउन्ट सम्म आइपुग्दा कसरी यसको व्यवस्थापन गर्नुभएको छ ?
    आफु कसरी पब्लिकको अघि घुलमिल हुन सकिन्छ ? भनेर लाग्नुपर्ने हुन्छ । अहिले पनि कतिपय साथीहरुले सिआरबिटी पनि बनाइरहनुभएको छ । तथापि मैले चाहिँ कलेक्सन गीतहरु नै गाएको हुँदा त्यसतर्फ लागेकी छैन ।
    ० तपाईले गाएका कस्ता गीतहरु दर्शकले मन पराएको अनुभव गर्नुभएको छ ?
    मैले हालसम्म एउटा आधुनिक र पप गीत गाएकी छु । म राईकी छोरी भएकी हुँदा बान्तवा, कोइलिङ र चाम्लिङ भाषामा पनि गीत गाएकी छु । साकेला, उद्यौली र उभौलीका गीतहरु पनि गाएकी छु ।

    ० गायन क्षेत्रबाट पनि सांस्कृतिक उत्थानका लागि कत्तिको अघि बढ्न सकिँदो रहेछ ?
    यी सबै कुरा मानिसमा निर्भर हुने कुराहरु हुन् । त्यसरी आम स्रोता र दर्शकका अघि कसरी असाधारण भएर प्रस्तुत हुने भन्ने कुरामा निर्भर रहने नै भए ।

    ० गायन क्षेत्रमा अहिले चर्चामा रहेका गायकलाई रोज्नुपर्दा कस्लाई रोज्नुहुन्छ ?
    यो त साह्रै कठिन प्रश्न गर्नुभयो । किनकी मलाई त सबै जना नै राम्रो लाग्छ । आफ्नो मेहनत बौद्धिकताका कारण सबै जना अब्बल हुनुहन्छ ।

    ० नामै लिनुपर्दा नेपाल र विदेशमा कुन कुन गायकले गाएका गीतहरु मन पर्ने गर्दछन् ?
    म सबै अग्रजहरुलाई सम्मान गर्दछु । तथापि मलाई राजेश पायल राई, उदय सोताङ र मणिराज सोताङले गाएका गीतहरु मन पर्दछ । त्यसैगरी भारतका श्रेया भुषालले गाएका गीतहरु मनपर्छ ।

    ० तपाईहरुले कुन ठाउँमा कस्ता गीत गाउँदा दर्शक र स्रोताहरुले मन पराउँछन् भन्ने विषयमा कसरी व्यवस्थापन गर्नुहुन्छ ?
    हामीले स्टेज सोका लागि कुन समुदाय र संस्कारका स्रोता र दर्शकहरु छन् ? त्यसको मुल्यांकन गरेर सबै जाति, भाषा र लिंगलाई समेटेर गीत गाउँदा मन पराउछन् भन्ने आधारमा योजना बनाउँछौं ।

    ० गायक/गायीका भएपछि विभिन्न देशका विभिन्न भाषाका गीतहरु परिस्थिति अनुसार गाउनुपर्ने हुन्छ । तपाईको प्राक्टिस कस्तो छ ?
    गायन मेरो पेशा हो । अहिलेसम्म मैले पनि नेपाली लगायतका चार भाषामा गीत गाउँदै आएको छु । विदेशी भाषाका गीतहरु पनि गाउने मौका पाएको खण्डमा तयार छु । हाम्रा राई जाति भित्रका चाम्लिङ, बान्तवा र कोइराईहरुको छुट्टाछुट्टै भाषाहरु हुन्छन् । ती सबै भाषामा मैले गीत गाउन सक्छु ।

    ० तपाईले गाएका गीतहरुमा स्रोताले सबैभन्दा मन पराएको गीत कुन हो ?
    मैले गाएका सबै गीतहरुमा स्रोताको राम्रो रेस्पोन्स पाएको छु । तथापि खोटाङ, भोजपुर र धरान हुँदै पूर्वेली गीत साकेला प्याटर्नको गीत ‘डुबेधारा पानी हातैमा, सोल्टीनी ज्यूलाई भेटे बाटैमा …… ’ भन्ने गीत सबैले मन पराउनुभएको छ ।

    ० तपाईले १ नम्बरमा लिनुपर्दा खास गरी कुन गीतलाई मनपर्छ ?
    मलाई नारायण गोपाल दाईको जुन फूल मैले चाहेको थिए …..मन पर्छ । हुनत म मैले अहिलेसम्म पनि कुनै फूल चाहेको छैन । तारादेबी र अरुणा लामाहरुले गाएका उकाली ओराली, भन्ज्याङ र चौतारीहरुमा भन्ने गीत त्यसै गरी भक्तराज आचार्यले गाउनुभएको जहाँ छन् बुद्धको आँखा भन्ने गीत पनि साह्रै मन पर्छ ।

    ० गायन विद्यालाई पेशा अगाल्दा यस्का चुनौतिहरु के के देख्नुभयो ?
    म पनि सुरुका दिनमा धेरै दुःख कष्ट सहेर यो स्थानमा आइपुगेको छु । जब हामी एउटा घरको जग बनाउनका लागि सुरु गछौं । सबै खालका निर्णय गरेर मात्र गर्ने गरिन्छ । दुःख र चुनौति पार गरेर दर्शक र स्रोताका माया पाएको छु । यहि पेशा अगाल्दा भोलिका दिनमा बाँचिन्छ वा बाँचिदैन ? कतिपय सार्थीहरु तनावका साथ बाच्न बाध्य हुनुभएको छ ।

    ० यो पेशामा मर्यादित भएर जीबीकोपार्जन गर्न सम्भव छ ?
    कतिपय फिल्डमा जब हामी उत्रिन्छौं । आफ्नै बुद्धि र विवेकमा चल्न सक्नुपर्दछ । बोकेको कुुकुरले मृग मार्दैन भन्ने उखानै छ । त्यसरी नै अवसर मात्रै प्राप्त गर्दैमा केहि हुँदैन । त्यसको सहि सदुपयोग हुनुपर्दछ । यसरी एक दुई दिन कसैको छत्रछायाँमा बसेर खुशीका लागि हर लक्ष्य प्राप्ती गरौला भन्ने कल्पना नगरेपनि हुन्छ । तथापि म भित्र योग्यता, क्षमता र दुःख सुःखलाई हेण्डिल गरेर काम गर्ने खुबि छ भने असम्भव केहि हुँदैन ।

    ० यो क्षेत्रमा पनि कला र गला नभएपनि केहि मानिसहरु त कसैको निगाहामा पनि त चर्चामा छन् नी ?
    हो हाम्रो नेपाली समाज पनि यस्तै छ । हामीले थुप्रै कला र गला भएका कलाकारहरु पनि पछि पर्नुभएको देखेका छौं । साथै कला र गला नभएका मानिसहरु पनि अघि नै रहेको अवस्था पनि छ । समाज यस्तै मुर्खहरुको बर्चश्व छ । तथापि समाजमा आफुले पनि केहि न केहि गर्नका लागि प्रयत्नरत रहनैपर्छ । समाजमा आफ्नो कला र गलालाई दबाएर राख्नु हुँदैन ।

    ० गीत गाउनमा हिजोको अवस्था र वर्तमान अवस्थालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
    हिजोको दिनमा फरक परिवेश थियो । अहिलेको अवस्थामा धेरै शिक्षित वर्गहरु पनि यो पेशामा आउनुभएको छ । तथापि शिक्षित ब्यक्तिहरु मात्रै यो पेशामै लाग्नुपर्छ भन्ने छैन । तर पनि धेरै सुधार गरिएको छ ।

    ० गायक/गायीका लाई रोयाल्टी दिने क्रममा पनि शोषण गरिन्छ भनेर बारम्बार सुन्नमा आएको छ नी ?
    हो, प्रतिशतको आधारमा रोयाल्टी प्राप्त हुन्छ भनेर बुझेको छु तर, के कसरी शोषण हुन्छ मैले बुझेको छैन । त्यसैले यो क्षेत्रमा पनि पारदर्शिताको खाँचो छ ।

    ० गायक/गायीकाहरु विदेशमा जानकै लागि गायन क्षेत्रमा लाग्छन् भन्ने पनि छ, गाउन थालेको दुई वर्षमै विदेशिएका पनि छन् । तपाईंले पनि सोच्नुभएको होला नि ?
    वास्तवमा मलाई पनि धेरैले यहि भन्ने गर्नुहुन्छ । म एक जना अब्बल गायिका भएर सबै नेपालीको छोरी भएर काम गर्न सफल भएँ भने विदेशिन किन जरुरी छ ? किनभने हातमा हात साथमा साथ पाएको खण्डमा अरुको देशमा गएर गुलाम गर्ने मेरो कुनै रहर छैन । हामी खाए पनि नखाए पनि आफ्नो देशमा बाच्न सक्छौं । तर, विदेशमा त्यो सम्भव हुँदैन । विदेशमा संस्कार, संस्कृति भन्दा पनि कामलाई मात्रै प्राथामिकता दिईन्छ । मलाई दर्शक र आम स्रोताहरुको मायाले विदेश नगई नेपालमै बस्ने वातावरण बनेको छ । तथापि छोटो समयका लागि कार्यक्रम सञ्चालन गर्न विदेश घुम्न जान सक्छु । तर, सधैका लागि बस्न होइन ।

    ० अन्तमा…….?
    तपाईले मेरो भनाई राख्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । साथै खोटाङको एउटा गाउँमा जन्मेर घरको जेठी छोरी हुनुको नाताले रहर र बाध्यताका बीचमा जुन उपलब्धि हासिल भएका छन् यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।

    प्रतिक्रिया
    थप समाचार