Online Nepal आइतबार, बैशाख ३० २०८१

एमालेको चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट

एमालेको चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट


मध्यान्तर
  • सोमबार, कार्तिक १४ २०७९

  • फाइल तस्बिर

    धनगढी । नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ।

    मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो।एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने बताए।

    उनले अध्यक्ष ओली हेलिकप्टरमार्फत् दार्चुला पुगेर सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्ने जानकारी दिए।

    ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो। यसलाई सफलताको रूपमा लिएका ओलीले चुनावी अभियान सुरु गर्न पनि दार्चुलालाई नै रोजेका हुन्।

    प्रदेश सचिव पाठक पनि एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गरे।

    १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने पाठकले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार