काठमाडौं । गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोध हटेसँगै झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाली चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।
लामो समयको निर्यात अवरोधका कारण इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । नेपाल चिया उत्पादक संघका अनुसार गत सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका दुईवटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरिसकेका छन् । नाका सहज भएसँगै उद्योगमा थन्किएको चिया अब निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास व्यवसायीहरूले लिएका छन् ।
चिया निकासीमा देखिएको गाँठो फुकाउन प्रधानमन्त्री कार्यालयले विशेष चासो देखाउँदै प्रत्यक्ष हस्तक्षेप गरेको थियो । प्रधानमन्त्री सचिवालयले असारको पहिलो साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवको सदस्य-सचिव रहने गरी एक अन्तर-निकाय विशेष कार्यदल गठन गरेको थियो । उक्त समितिमा अर्थ, गृह, परराष्ट्र, कृषि मन्त्रालयका उपसचिवहरू तथा भन्सार विभाग, खाद्य प्रविधि, गुणस्तर तथा नापतौल विभाग र चिया विकास बोर्डका निर्देशकहरू सहभागी छन् ।
भारतले चियाको गुणस्तर परीक्षण प्रणाली परिमार्जन गर्दै अब ‘जोखिममा आधारित परीक्षण प्रणाली’ (र्यान्डम इन्टरसेप्सन) लागु गरेको छ । नयाँ व्यवस्थाअनुसार नेपालबाट जाने शतप्रतिशत गाडीको सट्टा अब २० प्रतिशत अर्थात् ५ वटा गाडीमध्ये एउटाको मात्र छड्के जाँच गरिनेछ । यसअघि गत वैशाख १८ गतेदेखि भारतले प्रत्येक गाडीको अनिवार्य नमुना परीक्षण गर्ने नियम लागु गर्दा पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेका थिए ।
निकासीको ढोका खुलेसँगै भारतीय बजारमा नेपाली चियाको माग र नयाँ अर्डर धमाधम आउन थालेको छ । हाल पहाडमा उत्पादित अर्थोडक्स चियाको निर्यात सुरु भइसकेको छ भने तराईको सिटिसी चियाको कारोबार सम्झौता हुन बाँकी छ । यद्यपि, पानीट्यांकी भन्सार नाकामा प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै पनि कोलकाता नै पठाउनुपर्ने बाध्यता र पुराना झन्झटहरूका कारण व्यवसायीहरू पूर्ण रूपमा ढुक्क हुन भने सकेका छैनन् ।