Online Nepal मंगलबार, असार १६ २०८३

बागमतीका पाँच जिल्लामा बर्ड फ्लू नियन्त्रण बाहिर, २ लाखभन्दा बढी पन्छी नष्ट

बागमतीका पाँच जिल्लामा बर्ड फ्लू नियन्त्रण बाहिर, २ लाखभन्दा बढी पन्छी नष्ट


मध्यान्तर
  • मंगलबार, असार १६ २०८३

  • फाइल तस्बिर

    काठमाडौँ । बागमती प्रदेशका पाँच जिल्लामा बर्ड फ्लू (Bird Flu) संक्रमण तीव्र रूपमा फैलिएपछि अवस्था नियन्त्रण बाहिर पुगेको छ। देशभर महामारीको रूपमा देखिन थालेको यो संक्रमण बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा पुष्टि भएको छ। प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत चैत ११ गतेदेखि हालसम्म संक्रमण देखिएका यी पाँच जिल्लाका विभिन्न फार्महरूबाट २ लाख ८ हजार २५२ वटा पन्छी नष्ट गरिएको छ। पन्छीका साथै संक्रमण फैलिन नदिन सोही अवधिमा ५ लाख ५ वटा अण्डा र ८८ हजार ६ सय केजी दानासमेत नष्ट गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार प्रदेशका अन्य जिल्लामा बर्ड फ्लू नदेखिए पनि हाल संक्रमण पुष्टि भएका क्षेत्रमा भने हरेक दिन फरक–फरक फार्महरूमा नयाँ संक्रमण देखिने क्रम जारी छ।

    संक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये चितवनको खैरहनी नगरपालिका–१ मा ३८ हजार २ सय कुखुरा, २ लाख ९५ हजार ५० वटा अण्डा र १२ हजार केजी दाना नष्ट गरिएको छ। यस्तै, चितवनकै भरतपुर महानगरपालिका–४ मा रहेको फार्मबाट १८ हजार ८६३ कुखुरा, ५५ हजार ४४० अण्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको छ। काभ्रे जिल्लाका दुई स्थानीय तहमा पनि बर्ड फ्लूको ठूलो असर देखिएको छ, जहाँ बनेपा नगरपालिकाको वडा नम्बर ६ र १३ तथा पनौती नगरपालिकाको वडा नम्बर ७ र ९ मा संक्रमण पुष्टि भई पन्छी र दाना नष्ट गरिएको छ। जसअनुसार बनेपा–६ मा ५ हजार २१ कुखुरा र १ हजार ५ सय अण्डा तथा बनेपा–१३ मा १ हजार ४५७ कुखुरा, २ हजार ८ सय अण्डा र १ हजार २५० केजी दाना नष्ट गरिएको छ। पनौती–९ को फार्मबाट ९ हजार ३९१ कुखुरा, ५ सय अण्डा र ५ सय केजी दाना र पनौती–७ बाट २७९ कुखुरा, १६ अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।

    यसैगरी, काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै १ लाख ३५ हजार ४१ वटा कुखुरा नष्ट भइसकेका छन्। उपत्यका भित्रका संक्रमित फार्महरूबाट १ लाख ४४ हजार ७४४ वटा अण्डा र ६१ हजार ७५० केजी दानासमेत नष्ट गरिएको तथ्यांक छ। तीव्र गतिमा फैलिरहेको यो महामारीलाई थप बिस्तार हुन नदिन अहिले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जिल्लास्थित पशु सेवा कार्यालयहरू उच्च सतर्कताका साथ परिचालन भएका छन्। प्राविधिक टोलीहरूले संक्रमण फैलिएका क्षेत्रका बाँकी पन्छीहरू सुरक्षित रूपमा नष्ट गर्ने, फार्महरूलाई वैज्ञानिक पद्धतिबाट निसङ्क्रमण गर्ने, संक्रमण क्षेत्रलाई सिल गरी सुरक्षित बनाउने तथा प्रभावित किसानहरूको क्षति विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएका छन्।

    प्रतिक्रिया
    थप समाचार