काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले तत्काल पार्टी एकता नहुने बताएका छन् ।आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै एकताको भ्रममा नपर्न नेता -कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
उनले भने “हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौं,”।
उनले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको बताए । लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको धारणा ओलीको छ ।
अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको धारणा राखे । एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच देखिएको भनाइ उनको छ । नेपाली कम्युनिस्ट पार्टीसँग एकताको चर्चा चलेको बेला ओलीले प्रस्टिकरण दिएका हुन् ।