Online Nepal मंगलबार, असार १६ २०८३

मुगुको प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

मुगुको प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु


मध्यान्तर
  • मंगलबार, असार १६ २०८३

  • काठमाडौँ । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । हिजो (२०८३ असार १५) देखि सो सेवा शुभारम्भ भएको हो ।

    रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृङ्खला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

    मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्नेछन् । यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ । अब पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सहज रूपमा सामाजिक सञ्जालमार्फत आदानप्रदान गर्न सक्नेछन् ।

    उक्त क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको उक्त टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेसनको रूपमा समेत कार्य गर्नेछ । यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ ।

    नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’को आफ्नो दायित्वलाई आत्मसात् गर्दै देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पनालाई साकार बनाउन कम्पनी प्रतिबद्ध रहनेछ ।

    स्मरण रहोस्, यो भन्दा पहिले २०७६ मङ्सिर १९ देखि नेपाल टेलिकमले रारा ताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार