Online Nepal मंगलबार, असार १६ २०८३

सेयर बजारमा लगातार सातौं दिन पहिरो, नेप्से ६ महिनाकै तल्लो बिन्दुमा

सेयर बजारमा लगातार सातौं दिन पहिरो, नेप्से ६ महिनाकै तल्लो बिन्दुमा


मध्यान्तर
  • मंगलबार, असार १६ २०८३

  • काठमाडौँ ।  घरेलु सेयर बजारमा लगातार सातौं कारोबार दिन पनि गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८ बिन्दुमा ओर्लिएको छ। यो गिरावटसँगै बजार ६ महिनायताकै तल्लो बिन्दुमा झरेको हो। यसअघि गत पुस ९ गते नेप्से २५८५ अंकमा रहेको थियो।

    गत साताका पाँचै दिन घटेको बजारले यो साताको सुरुवाती दुई दिन पनि सोही लयलाई निरन्तरता दिएको छ। सोमबार मात्रै नेप्से १६.५४ अंकले घटेको थियो।

    मंगलबार दिनभरजसो बजार राताम्मे रहे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार कारोबार रकम बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

    आज कारोबार भएका कम्पनीमध्ये रैथाने र भर्खरै सूचीकृतसहित कुल २३५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। केवल ३५ कम्पनीको मूल्य मात्र बढ्दा ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

    बजारका सबै उपसूचकहरू आज ऋणात्मक (रातो) बनेका छन्। सबैभन्दा बढी व्यापार समूह १.७४ प्रतिशत र जलविद्युत् समूह १.४३ प्रतिशतले घटेका छन्। यस्तै, अन्य समूह १.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.२० प्रतिशत तथा फाइनान्स समूह १.०० प्रतिशतले ओरालो लागे। बैंकिङ, जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स जस्ता प्रमुख समूहहरू पनि ०.५ प्रतिशतभन्दा बढीले घटेका छन्।

    बजार घटे पनि भर्खरै सूचीकृत भएको स्नो रिभर्सको सेयर मूल्यमा १५ प्रतिशतको उछाल आएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत र सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशतले मूल्य बढेको छ।

    यता, लगातार बढिरहेका दुई कम्पनी टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा भने सूचीकरणपछि पहिलो पटक गिरावट आएको छ। टक्सार पिखुवाखोलाको मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशत र याम्बलिङ हाइड्रोपावरको ८.२३ प्रतिशतले घटेको छ। अघिल्लो दिनसम्म यी दुवै कम्पनीको मूल्य १५ प्रतिशतले बढेको थियो।

    यस्तै सोपान फर्मास्युटिकल्स (५.९०%), श्रीनगर एग्रिटेक (५.४९%) र पियोर इनर्जी (५.४८%) का लगानीकर्ताले पनि आज गुमाएका छन्।

    मंगलबार सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बलिङ हाइड्रोपावरको सर्वाधिक रकमको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    थप समाचार