Online Nepal शुक्रबार, बैशाख १४ २०८१

कोरोनाका कारण एघार दिनमा सात जनाको मृत्यु, मृतकले लगाएका थिएनन् खोप

कोरोनाका कारण एघार दिनमा सात जनाको मृत्यु, मृतकले लगाएका थिएनन् खोप


मध्यान्तर
  • बुधबार, साउन ११ २०७९

  • काठमाडौँ । नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ । सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

    कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ७ जना मध्ये ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकै थिएनन् भने एक जनाले पहिलो मात्रामात्रै लगाए थिए । मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु छ । यस्तै, साउन ९ गते अर्थात् सोमबार एक जनाको मृत्यु भएको थियो ।

    यस्तै, साउन १ र २ गते पनि एक/एक जना सङ्क्रमितको मृत्यु भएको थियो । साउन ८ गते दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुने ६ जना ५८ वर्ष माथिका छन् भने एक जना ३६ वर्ष पुगेका थिए । डा. अधिकारीका अनुसार मृत्यु भएकाहरूमा दीर्घरोगी कम थिए ।

    कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले पूर्ण सावधानी अपनाउन र कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप लगाउन तथा बुस्टर डोज लगाउन छुटेकालाई अनिवार्य रूपमा खोप लगाउन उनको आग्रह छ । बुस्टर मात्रा हालसम्म ७२ लाख १२ हजार ६२२ जनाले लगाएका छन् । नेपालमा १२ वर्षमाथिको लक्षित जनसङ्ख्या दुई करोड ३३ लाख २७ हजार ६१९ छ । त्यसमध्ये ९१।६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा ८८ प्रतिशतले लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार