Online Nepal सोमबार, बैशाख २४ २०८१

‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया , यसो भन्छन् सहभागिहरु

‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया , यसो भन्छन् सहभागिहरु


मध्यान्तर
  • शुक्रबार, बैशाख ६ २०७६

  • काठमाडौ । नेपालमा अहिले नयाँ शैक्षिकसत्र सुरु हुँदैछ । पाठ्यक्रमको अन्योलतासँगै भर्नामा चर्को शुल्कका कारण अभिभावकहरु आफूँहरु चर्को मारमा परेको गुनासो बढिरहेको छ । तर मुलुकको शिक्षा प्रणाली कमजोर र गरिखाने हुन सकेको छैन । यसबीच, अब शिक्षा नीति कस्तो हुनुपर्छ ? भन्ने विषयमा सञ्चार केन्द्र नेपालले ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ ।

    कार्यक्रममा सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकको शिक्षा प्रणाली कमजोर भएको भन्दै भन्नुभयो– ‘शिक्षालाई सिपसँग र सिपलाई श्रमसँग जोड्नुपर्छ ।’ कार्यक्रममा उहाँले सिटीइभिटी ट्रेड स्कुलका नाममबाट सुरु हुँदै प्राविधिक र व्यवसायिक शिक्षा दिने शिक्षालयको रुपमा रुपान्तरण भएको तर्क गर्दै हाल सिटिइभिटीमा २०१५ जना भर्ना गर्ने क्षमता रहेको जानकारी गराउनुभयो । सिटिइभिटी संघीयताको मर्म अनुसार अगाडि बढेको जिकिर गर्दै एक वर्षभित्रमा १ सय १ स्थानीय तहमा हाम्रो कार्यक्रम पुगेको छ, यसलाई अझ बढवा दिन्छौं– उहाँले भन्नुभयो ।

    त्यसैगरी कार्यक्रममा नेविसंघका तत्कालिन अध्यक्ष नैनसिंह महरले नेपालमा पछिल्लो समय आफुकेन्द्रित शैक्षिक प्रणालीको विकास भएको भन्दै नैतिकतामा आधारित मानवतावादी शिक्षा हुनुपर्ने बताउनुभयो । नेपालका शिक्षा क्षेत्रका उपल्लो तहका व्यक्तिहरुले नै शिक्षा प्रणालीमा सुधार ल्याउनका लागि तत्पर र इच्छुक नरहेको बताउँदै शिक्षामा आमूल परिवर्तनका लागि नियत सफा राखेर काम गर्न आग्रह गर्नुभयो । प्राविधिक र गुणस्तरीय शिक्षाको कमीले गर्दा पछिल्लो समय नेपाली युवाहरुले बैदेशिक रोजगारमा समेत घाटा व्यहोरिरहनुपरेको उदाहरण दिँदै भन्नुभयो–‘दक्षिण कोरियामा उही काममा गएका श्रींलकाली युवाले ४ लाख भन्दा बढी तलब प्राप्त गर्छन् भने नेपाली युवाहरुले साढे दुई लाखमात्र ।’ उहाँले भन्नुभयो अब नेपालमा गुणस्तरीय र दक्षतायुक्त शिक्षाको जरुरी छ ।

    कार्यक्रममा अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकारले ८ कक्षासम्मको शिक्षा निःशुल्क र अनिवार्य भनिएपनि सामुदायिक विद्यालयहरुमा समेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । अध्यक्ष भण्डारीले शिक्षा, स्वास्थ्य जस्तो आधारभूत क्षेत्रहरुमा पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा मध्यम वर्गीय आय भएका नेपालीहरु ठुलो सकसमा बाँच्नुपरेको भन्दै जनताले भोगिरहेका यस्तो समस्या समाधानका लागि सरकारले उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिनुभयो । नेपालको बालबालिकाहरुमध्ये ठुलो हिस्सा शिक्षाको मूलधारबाट बाहिरिएको भन्दै उहाँले प्राइभेट क्षेत्रका स्कुलहरुलाई पनि अनुदान दिएर भएपनि शिक्षाजस्तो मानिसको अत्यावश्यक विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

    त्यस्तै हिसानका केन्द्रिय सचिव रामहरि सिलवालले एक्काइसौं शताब्दीको गरिखाने शिक्षा, राष्ट्रियता शिक्षा, नैतिकवान बनाउने शिक्षा दिनुपर्ने कुरा भएपनि व्यवहारमा लागू नभएको बताउनुभयो । हाम्रा शिक्षा प्रणाली १८ औ शताब्दीको जस्तो भएको तर्क गर्दै पाठ्यक्रम त १७ औं शताब्दीको जस्तो भएको तर्क गर्दै यस्तो शिक्षा प्रणालीको तत्काल सुधार हुनुपर्ने बताउनुभयो । नेपालमा भ्रष्टाचार र अनियमितताको विकास भएको र शिक्षाक्षेत्रपनि भागवण्डा र कमिसनमा विकेको तर्क गर्नुभयो । पछिल्लो समय शिक्षकहरु समेत आफ्नो जिम्मेवारी समेत पूरा गर्न छाडेको भन्दै भन्नुभयो–‘पेशाले शिक्षक तर कसरी वडासदस्य बन्ने रु कसरी वडाअध्यक्ष बन्ने भन्ने भ्याउन्नामा छन् यो परिपार्टीको अन्त्य हुनुपर्छ ।’ सचिव सिलवालले निजी क्षेत्रको शैक्षिक संस्थाहरुमा पनि अनुगमन र निगरानी हुनुपपर्छ तर निजी क्षेत्र भन्ने वित्तिकै गलत नजरले हेर्न नहुने बताउनुभयो । निजी क्षेत्रले घरजग्गा धितो राखेर शिक्षामा लगानी गरेकाले निजी क्षेत्रका शैक्षिक संस्थाहरुलाई पनि व्यवस्थित बताउन सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

    त्यस्तै कार्यक्रममा बौद्ध धर्मगुरु पासाङ तेम्वा शेर्पाले एक्काइसौं शताब्दीको शिक्षा सिपमूलक शिक्षा हुनुपर्ने भन्दै यसका सरकारले थुप्रै ऐन परिमार्जन गर्नुपर्ने बताउनुभयो । अहिलेको समय अन्र्तराष्ट्रिय प्रतिस्पर्धाको भएकोले नेपाल सरकारले सबै शैक्षिक संघ संस्थाहरुहरुसँग मिलेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न जरुरी भएको बताउनुभयो ।

    त्यसैगरी निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय सचिव भुवनचन्द्र जोशीले अबपनि असल शिक्षानीति भएन भने देश विकास कठिन भएको तर्क गर्नुभयो । पछिल्लो समय प्राविधिक शिक्षामा राज्यले लगानीगर्नुपर्ने भएपनि त्यसतर्फ सरकारले ध्यानाकर्षण गर्न नसकेको गुनासो गर्नुभयो ।

    त्यसैगरी कार्यक्रममा समाजसेवी डा. राजु गुरुङ बारामा भएको विनासकारी हावाहुरीका कारण भएका पीडितहरुलाई ४० हजार रुपैँया र केही लत्ताकपडा सहयोग गर्नुभएको छ । सो सहयोग रकम र लत्ताकपडा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले पत्रकार महासंघ वाराका अध्यक्षलाई वैशाख ७ गते नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका रौतहट टाइम्स साप्ताहिकले प्रकाशन गरेको २०७६ सालको क्यालेण्डरसमेत सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार